images

विदेशबाट फर्केकाहरुको ज्ञान र सीपलाई देश विकासमा लगाउन ओलीको आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा साम्प्रदायिकताको कुनै स्थान नभएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टी निकट जनवर्गीय संगठन रिटर्नी फेडेरेशन नेपालको प्रथम अधिवेशन उद्घाटन गर्दै ओलीले कुनै पनि समस्या समाधान नहुने भएकाले मुलुकमा साम्प्रदायिकताको नारा लगाउनुको कुनै अर्थ नरहेको बताएका हुन् ।

अध्यक्ष ओलीले विदेशमा काम गरेर फर्केकाहरुले बनाएको संगठन रिटर्नी फेडेरेशनका नेतृत्वले उनीहरुको समस्या समाधानका लागि मिलेर काम गर्नुपर्ने बताए ।

विदेशमा बसेर फर्केकाहरुले केही ज्ञान, केही सिप, केही संकल्प र अठोट लिएर आएको हुने भन्दै ओलीले त्यसलाई मुलुक निर्माणको काममा लगाउनका लागि रिटर्नी फेडेरेशनको नेतृत्वलाई निर्देशन समेत दिएका छन् ।

अध्यक्ष ओलीले नेपाल बसोबासको हिसावले स्वर्ग भएको उल्लेख गर्दै यही केही गर्न सकिन्छ भन्ने भावनाका साथ विदेशबाट फर्किएकाहरुले यहि काम गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष ओलीले विदेशबाट फर्केकाहरुको समस्या समाधानका लागि सामूहिक प्रयासको आवश्यकता रहेको पनि बताए ।