images

आकासमै ठोक्किनबाट जोगिए एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज, तीन एयर ट्राफिक कन्ट्रोलर कारबाहीमा

काठमाडौं । एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज आकाशमै ठोक्किनबाट बचेका छन् ।

गत शुक्रबार १९ हजार फिटको उचाइमा होल्ड गरिरहेको एयर इण्डियाको जहाज एक्कासी तल आएपछि १५ हजार फिटको उचाइमा रहेको नेपाल एयरलाइन्सको जहाजसँग झण्डै ठोक्किन पुगेको थियो । तर, एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले नेपाल एयरलाइन्सको जहाजलाई १३ हजार ५ सय फिटको उचाइमा झर्न लगाएपछि सम्भावित दुर्घटना टरेको थियो ।

 एक्कासी १९ हजारफिटबाट तल झरेको एयर इण्डियाको जहाजलाई १६ हजार फिटको उचाइमा चढ्न लगाइएको थियो । एयर इण्डियाको जहाज एक्कासी तल आएपछि दुवै जहाजको ककपिटमा रहेको (ट्राफिक कोलिजन अभोइन्डेन्स सिस्टम टिकासले सचेत गराएको थियो ।

घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणले छानविन सुरु गरेको छ । प्राधिकरणले तीनजना एअर ट्राफिक कन्ट्रोलर (एटीसी)लाई कारबाही समेत गरेको छ ।

एकै समयमा एकै उचाइमा उडानको अनुमति दिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका एटीसी निलम्बनमा परेका हुन् ।

यस विषयमा छानबिन गर्न समिति गठन गरिएको र समितिको अध्ययन प्रतिवेदन नआएसम्मका एटीसी निलम्बनमा रहेको प्राधिकरणले जनाएको छ ।

यो घटनापछि एयर इण्डियाका पाइलटलाई कारवाही गर्न त्यहाँको नागरिक उड्डयन प्राधिकरणलाई नेपालको नागरिक उड्डयन प्राधिकरणले पत्र लेखेको छ ।