images

पाकिस्तानमा खाद्य वितरण केन्द्रमा भागदौड हुँदा कम्तीमा १२ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको कराचीमा रहेको एउटा खाद्य वितरण केन्द्रमा भागदौड हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नौ जना महिला र तीन जना बालबालिका रहेको बीबीसी हिन्दीले जनाएको छ ।

रमजानको अवसरमा निस्शुल्क खाद्यान्न वितरण भइरहेको बेला केन्द्रमा आगलागी भएको हल्ला फैलिएपछि भागदौड भएको थियो । ठूलो भिड जम्मा भएको बेला भागदौड हुँदा अरु कयौँ मानिस घाइते भएका र उनीहरुको उपचार भइरहेको पाकिस्तानी अधिकारीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

पाकिस्तानमा आर्थिक सङ्कट बढ्दै गएपछि खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको भाउ अत्यधिक बढेको छ । उपभोग्य वस्तुको भाउ बढेपछि विभिन्न ठाउँमा हुने निस्शुल्क खाद्यन्न वितरण कार्यक्रममा ठूलो भिड लाग्न थालेको छ । यसअघि अघिल्लो हप्ता पनि भिडमा किचिएर चार जना वृद्धवृद्धाको ज्यान गएको थियो ।