images

आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा रहेको बताएका छन् ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा पार्टीका नेता तथा कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो चेतावनी दिएका हुन् ।

उनले संविधान सभामै उल्लेख भइसकेका र आत्मसाथ गरिसकेका कुरालाई अहिले तर्क, वितर्क गरेर असफल बनाउने र उल्ट्याउन खोज्ने प्रयास भइरहेको बताए । उनले परिवर्तनलाई विचलनमा लैजाने काम भइरहेको भन्दै सबै सजग रहन आग्रह गरेका छन् ।

वर्तमान समयमा आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र) सरकारमा रहेकाले परिवर्तन उल्टिँदैन जस्तो लागेपनि स्थिति सहज नरहेको प्रधानमन्त्री दाहालको जिकिर छ ।

प्रधानमन्त्री दाहालले आगामी दिनमा नेकपा (माओवादी केन्द्र) ले नेताहरुको समर्थन लिएर नेतृत्व प्राप्त गर्ने प्रणाली बदल्नुपर्ने बताए ।

उनले नेतृत्वलाई दबाब दिएर नेतृत्व पाउने प्रणालीको अन्त्य नगरेसम्म पार्टी बन्न नसक्ने उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले कार्यकर्ताको मन जित्ने मानिस नै नेता बन्ने प्रणालीको विकास गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।