images

राजनीतिक उद्देश्यले मन्त्रीको राजीनामा मागिहाल्ने संस्कार बस्नु गलत हो : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले केही विषय बाहिर आउना साथ मन्त्रीहरुको राजीनामा मागिहाल्ने संस्कृति राम्रो नभएको बताएका छन् ।

शुक्रवार इटाली भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो राजनीतिक उद्देश्यको निम्ति हत्तपत्त प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार बस्नु राम्रो नभएको र मन्त्रीहरुलाई स्पष्टीकरण राख्न दिनुपर्ने बताए । स्पष्टीकरणको मौका नदिकन राजीनामा नदिए संसद चल्न दिन्नौँ भन्ने संस्कृति राम्रो नभएको उल्लेख गरे ।

संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुँदा देशको कृषि क्षेत्रको मार्ग दर्शन भएको बताए ।

सम्मेलनको क्रममा बांगलादेशका प्रधानमन्त्री शेख हसिनासँग भेट भएको र नेपाल र बांगलादेशबीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी सहयोग, क्षेत्रीय सहयोग, अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपाल र बंगलादेशबीचको सहकार्य जस्ता विषयहरु छलफल भएको जानकारी दिए ।

बंगलादेश सरकार नेपालमा उत्पादित जलविद्युत खरिद गर्न इच्छुक रहेको र आर्थिक अन्तरनिर्भरताको लागि यो महत्वपूर्ण हुने बताए ।

प्रधानमन्त्री दाहालले लम्पी स्किनको बारेमा छलफल गरी धेरै हदसम्म नियन्त्रण र उपचारमा लागिसकेको बताए । उनले सरकारको तर्फबाट लम्पी स्किनको निदानतर्फ सचेत रहेको बताए ।