images

अमेरिकाको हवाइ टापुमा लागेको डढेलोमा परी ६ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको हवाइमा लागेको डढेलोमा परी ६ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार हवाइको माउइ टापुको जंगलमा लागेको डढेलोमा परी उनीहरुको मृत्यु भएको हो । डढेलोका कारण हजारौं मानिस विजुली सुविधाबाट बञ्चित भएका छन् भने उनीहरु सञ्चार सम्पर्कबाट विच्छेद भएका छन् ।

हवाइ आइल्याण्डको रुपमा चिनिने उक्त टापुमा डढेलो भयंकर रुपमा फैलिएको त्यहाँका अधिकारीहरुले बताएका छन् । नजिकै रहेको प्रशान्त महासागरमा चलेको तीब्र हावाले डढेले तीब्र गतिमा फैलिएका कारण डढेलो नियन्त्रण गर्न मुश्किल भईरहेको छ ।

सुरक्षाकर्मीहरुले हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिरहेका छन् । उद्धार तथा डढेलो नियन्त्रणका लागि आपत्कालिन कानून लागू गरिएको छ । उक्त टापुमा घुम्न गएका करीब चार हजार पर्यटक पनि अलपत्र अवस्थामा रहेका छन् ।

मोबाइल टावरहरु ढलेका कारण मानिसहरु सञ्चार सम्पर्कबाट पनि बञ्चित भएका छन् ।