images

अनवर उल हक काकर पाकिस्तानको कार्यवाहक प्रधानमन्त्री चयन

एजेन्सी । पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा अनवर उल हक काकर चयन भएका छन् ।

प्रधानमन्त्री शहबाज शरिफ नेतृत्वको मन्त्रिपरिषदले संसद विघटनको निर्णयपछि विपक्षी दलसमेतको सहमतिमा अनवरलाई कार्यवाहक प्रधानमन्त्री नियुक्त गरिएको हो ।

कार्यवाहक प्रधानमन्त्री चयनको विषयमा निवर्तमान प्रधानमन्त्री शहबाज शरिफ र विपक्षी दलका नेता राजा रियाजबीच शनिबार भएको छलफल अनुसार अनवरलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
पाकिस्तान सरकारको सिफारिसमा राष्ट्रपति आरिफ अल्बीले गत बुधबार मध्यराति संसद विघटनलाई सदर गरेका थिए ।

संसद विघटन भएको मितिदेखि ९० दिनभित्र पाकिस्तानमा आम निर्वाचन गराउनुपर्ने व्यवस्था छ ।

अनवर नेतृत्वको सरकारले त्यहाँ निर्वाचन गराउने छ । देश आर्थिक संकटमा परेको तथा पूर्वप्रधानमन्त्री इमरान खानलाई जेल सजाय भएको लगायतका थुप्रै उथलपुथलका बीच कार्यवाहक प्रधानमन्त्री अनवरलाई आम निर्वाचन शान्तिपूर्ण रुपमा गराउनुपर्ने चुनौति छ ।

सन् २०१८ मा बलुचिस्तानबाट स्वतन्त्र सांसदको रुपमा निर्वाचित अनवर पछि सिनेटमा बलुचिस्तान अवामी पार्टीको संसदीय दलको नेता पनि बनेका थिए । पाकिस्तानमा सन् २०२२ मा अविस्वासको प्रस्ताव ल्याई प्रधानमन्त्री इमरान खानलाई बर्खास्त गरिएपछी राजनैतिक अस्थिरता बढेको छ ।