images

युक्रेनमा जारी युद्व अन्त्यका लागि कूटनीतिक प्रयास गर्न जर्मनीको आग्रह

एजेन्सी । जर्मनीले युक्रेनमा जारी द्वन्द्व अन्त्यका लागि शान्ति सम्झौताका लागि साउदी अरबको नेतृत्वमा हालै सम्पन्न शिखर सम्मेलनको स्वागत गर्दै थप कूटनीतिक प्रयासका लागि आह्वान गरेको छ ।

जर्मनीका चान्सलर ओलाफ स्कोल्जले द्वन्द्व अन्त्यका लागि आह्वान गरेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चीन, जर्मनी, भारत र संयुक्त राज्य अमेरिकालगायत करिब ४० देशका प्रतिनिधिहरूले गत सप्ताहन्तमा जेद्दामा भएको सम्मेलनमा भाग लिएका थिए ।

स्कोल्जले रूसलाई उसले गलत बाटो लिएको छ भन्ने महसुस गर्न दबाब बढाउँनका पनि यी वार्ताहरू जारी राख्नु अर्थपूर्ण रहेको बताएका छन् । रूसले आफ्ना सैनिकहरू फिर्ता गर्नुपर्नेमा उनको जोड छ । गत जुन महिनामा कोपेनहेगनमा पनि शान्तिको बाटोबारे छलफल गर्न यस्तै अन्तर्राष्ट्रिय वार्ता भएको थियो ।

स्कोल्जले डेनमार्क र साउदी अरबमा विदेश नीति सल्लाहकारको तहमा भएको वार्तालाई अत्यन्त विशेष भनेका छन् ।

युक्रेनले सोमबार साउदी अरबको शिखर सम्मेलनबाट आफू सन्तुष्ट रहेको बताएको छ, जसमा कीभले युक्रेनी भूमिबाट रूसी सेनाको पूर्ण फिर्तासहित आफ्नो १० बुँदे शान्ति योजनालाई समर्थन गर्ने प्रयास गरेको थियो ।