images

मोरक्को भूकम्प अपडेट : ज्यान गुमाउनेको संख्या दुई हजार नाघ्यो, एक हजार ४०० बढी घाइते

काठमाडौं । मोरक्कोमा भएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या दुई हजार नाघेको छ ।

भूकम्पमा परी हालसम्म दुई हजार बढीको ज्यान गइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । भूकम्पमा परी एक हजार ४०० बढी घाइते भएका छन् ।

घाइतेमध्ये दुई सय पाँच जनाको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ । ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी मोरक्कोको अल–हौज र ताराउदान्ट प्रान्तका छन् ।

मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएको उल्लेख गरिएको छ । मोरक्कोमा शुक्रबार राति ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । शक्तिशाली भूकम्पपछि साना–साना धेरै धक्का शनिबार पनि महसुस गरिएको मोरक्कका सञ्चार माध्यमहरूले जनाएका छन् ।

सरकारी अधिकारीहरूका अनुसार देशको एक तिहाइ भूभाग भूकम्पबाट प्रभावित भएको छ । ज्यान गुमाउने र घाइते हुनेको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ ।

भूकम्पले नराम्ररी प्रभावित पर्वतीय क्षेत्रमा रहेका दुर्गम गाउँसम्म पुग्न निकै कठिनाइ भएको छ । पूराना भवन भएका ती गाउँमा अकल्पनीय विनाश भएको अनुमान गरिएको छ ।