images

थप १३ जना इजरेली र चार जना थाई बन्धकहरू रिहा

एजेन्सी। गाजामा इजरेल हमासबीच युद्धविराम चलिरहँदा थप १३ जना इजरेली नागरिक र चार जना थाई बन्धकहरू रिहा गरिएका छन्।

यसअघि इजरेलले गाजामा पठाइएका मानवीय सहायता सामग्री रोकेको भन्दै हमासले उनीहरूलाई मुक्त गर्न ढिलाइ गरेको थियो। कतार र इजिप्टको मध्यस्थतापछि उनीहरूलाई मुक्त गर्न सहमत भएको हमासले उनीहरूलाई रेडक्रस समक्ष हस्तान्तरण गरेको हो।

कतारले मध्यस्थता गरेको चार दिने अस्थायी युद्धविराम र बन्दी साटफेर गर्ने सम्झौताअन्तर्गत हमासले छाड्ने इजरेली बन्धकहरूको तेबर सङ्ख्यामा इजरेलले प्यालेस्टिनी बन्दीहरू छाड्ने गरेको छ।

द्विपक्षीय सहमतिअनुसार शुक्रवार हमासले १३ इजरेली, १० थाई र एक फिलिपिनोसहित २४ बन्धकलाई मुक्त गरेको थियो भने इजरेलले ३९ जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको थियो। तर हमासकाे कब्जामा रहेका नेपालका विपीन जाेशी भने अझै रिहाइ भएका छैनन।