काठमाडौं । भक्तपुरको सूर्यविनायकदेखि काठमाडौँको रत्नपार्कसम्म चल्ने द्रुत बस सेवा आइतबारबाट पुनः सुरु भएको छ।
सरकारले गत असोज ३ गते संविधान दिवसको अवसर पारेर द्रूत बस सञ्चालनमा ल्याएपनि कार्यान्वयनमा समस्या आएपछि एक महिनामै सेवा बन्द भएको थियो।
सञ्चालनको तरिकामा केही परिमार्जन गर्दै बस सेवा पुनः सञ्चालन गर्न लागिएको नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए । यो सेवामा अब ११ वटा बस थपेर ३६ वटा पुर्याइएको छ ।
यसअघि सुर्यविनायकबाट पाँच–पाँच मिनेटमा छुट्ने गरेका द्रूत सेवाका बस अब तीन–तीन मिनेटमा छुट्ने भएको छ।
अबदेखि प्रत्येक बिहान ९ बजेदेखि ११ बजेसम्म चल्ने गरेकोमा अबदेखि साढे ८ बजेदेखि साढे १० बजेसम्म र बेलुकी साढे तीन बजेदेखि साढे पाँच बजेसम्म सेवा सञ्चालन गरिने छ । यसैगरी धेरै जाम हुने कोटेश्वर, बानेश्वर जस्ता मुख्य जक्सनहरूमा द्रूत बस सेवाका लागि तीस मिटर ठाउँ छुट्याइने छ ।
यस्ता मुख्य जक्सनहरूमा कोन राखेर तीन मिटर जति खाली ठाउँ छुट्याइने र ती ठाउँमा अन्य सवारी साधन जान नपाउने नेपाल यातायात व्यवसायी महासंघले जनाएको छ। उपत्यकामा धेरै ट्राफिक जाम र सार्वजनिक यातायातमा सवार व्यक्ति समयमा गन्तव्य पुग्न कठिन भएपछि द्रुत बस सेवा सञ्चालनमा ल्याएको थियो।