images

भारतको गुजरातमा विषाक्त मदिरा सेवनबाट दुई दिनमा पाँच जनाको मृत्यु

काठमाडौं । पश्चिमी भारतको गुजरात राज्यमा विषाक्त मदिरा (पेय पदार्थ) सेवन गर्दा दुई दिनमा पाँचजनाको मृत्यु भएको छ भने अन्य दुईजना अस्पताल भर्ना भएका छन् ।

प्रहरीले बिहीबार जनाएअनुसार सो घटना गुजरातको राजधानी गान्धीनगरबाट ६७ किलोमिटर दक्षिणपूर्वमा रहेको खेडा जिल्लामा भएको हो । प्रहरीका अनुसार सिरपमा मिथाइल अल्कोहल रहेको पाइएको छ ।

‘पछिल्ला दुई दिनमा सिरप खाँदा पाँच जनाको ज्यान गएको छ भने दुई जनाको अस्पतालमा उपचार भइरहेको छ’, वरिष्ठ प्रहरी अधिकृत राजेश गढियाले सञ्चारमाध्यमलाई भनेका छन् । एक गाउँलेको रगत नमुना रिपोर्टले सिरपमा ‘मिथाइल अल्कोहल’ रहेको पुष्टि गरेको उनको दाबी छ । स्थानीय सञ्चारमाध्यमका अनुसार पसलले करिब ५० जनालाई नक्कली सिरप बेचेको थियो ।

प्रहरीले अनुसन्धानका क्रममा पसलेसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको बिलोदरा गाउँको एउटा पसलमा सिरप सहजै बिक्री हुने गरेको पाइएको छ ।