images

इजरायल र प्यालेस्टिनी समूहबीचको युद्धविराम सकियो, फेरि हवाई आक्रमण सुरु

एजेन्सी । हमास र इजरायलबीचको युद्धविराम सम्झौता सकिएको छ । सम्झौता सकिएसँगै इजरायलले फेरि युद्ध सुरु भएको जनाएको छ । विहीबार हमास र इजरायल बीचको युद्धविराम सम्झौताको सात दिन पूरा भएसँगै शुक्रबार यो सम्झौता टुंगिएको हो ।

गत शुक्रबार हमास र इजरायलबीच युद्धविराम सम्झौताको घोषणा भएको थियो । बीबीसीका अनुसार सम्झौता समाप्त हुनु केही समयअघि इजरायलले गाजाबाट प्रहार गरिएको रकेट खसालेको दाबी गरेको थियो । समाचार संस्था रोयटर्सका अनुसार प्यालेस्टिनी लडाकु समूहले इजरायली क्षेत्रतर्फ गोलीबारी गरेर अस्थायी युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै इजरायली सेनाले हमास विरूद्ध कारबाही पुनः सुरु गरेको जनाएको छ । यसबारे हमासबाट कुनै प्रतिक्रिया प्राप्त नभएको रोयटर्सले जनाएको छ ।

प्यालेस्टाइनी मिडियाले इजिप्टको सिमानामा रहेको रफाहमा समेत युद्धविरामको समयावधि सकिएपछि इजरायली सेनाद्वारा आक्रमण भएको दाबी सहितका खबर लेखेका छन् । अमेरिका, कतार र इजिप्टको निरन्तरको मध्यस्थताका बावजुद पनि युद्धविराम लम्बिन सकेन । विश्व समुदायले युद्धविराम लम्बिने आशा गरेका थिए । सात दिनसम्म चलेको युद्धविराममा बिहीबारसम्म हमासले ११० जना बन्धकहरूलाई रिहा गरेको छ ।