images

विधानसभा निर्वाचनमा भारतका तीन प्रदेशमा भाजपाको जित,कंग्रेसलाई धक्का

काठमाडौं । भारतको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी भाजपाले तीन प्रदेशमा जितेको छ ।भारतीय निर्वाचन आयोगका अनुसार मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा भाजपा विजयी भएको हो ।

मध्य प्रदेशमा कुल २३० सिटमध्ये भाजपाले १६४ सिट जितेको छ भने कंग्रेस आईले ६५ सिट मात्र जितेको छ । त्यस्तै राजस्थानमा कुल २१५ सिटमध्ये भाजपाले ११५ र कंग्रेस आईले ६९ सिट जितेको छ । छत्तीसगढमा कुल ९० सिटमध्ये भाजपाले ५७ र कंग्रेस–आईले ३२ सिट जितेको छ ।

सन् २०१८ को निर्वाचनमा कंग्रेस–आईले जितेका यी तीन प्रदेशमा भाजपाले जित हासिल गरेसँगै कंग्रेस–आईलाई धक्का लागेको छ । तेलंगना राज्यमा भने कंग्रेस–आईले भारत राष्ट्र समिति बिआरएसको दस वर्षे सत्ता अन्त्य गरेको छ । तेलंगनामा कुल ११९ सिटमध्ये कंग्रेस आईले ६४ र बिआरएसले ३९ र भाजपाले ८ सिट मात्र जितेको छ । सन् २०२४ मा भारतमा लोकसभा चुनाव हुँदैछ ।