images

किन दिए प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार गजुरेलले राजीनामा ?

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदबाट राजीनामा दिएका छन।

गजुरेलले मंसिर २० गते नै प्रधानमन्त्री प्रचण्ड समक्ष लिखित रुपमा राजीनामा दिएका भए पनि उनले दिएको राजीनामाको चर्चा आइतबार मात्रै सञ्चार माध्यमहरुमा आयो। प्रधानमन्त्री समक्ष राजीनामा दिएको विषय र असुन्तुष्टिका सवालमा गजुरेलकै गृह जिल्लाबाट सुचनाको चुहावट भएपछि उनले त्यसलाई स्वीकारेका हुन्।

उनको राजीनामाको विषयलाई लिएर अहिले चौतर्फी चर्चा चुलिएको छ। स्पेस समाचारसँग कुरा गर्दै गजुरेलले आफूले राजीनामा दिए पनि स्वीकृत नभएको जानकारी दिए। उनले भने, ‘२० गते बिहान मैले पदबाट राजीनामा दिएको हुँ । त्यसपछि सिंहदरबार पनि गएको छैन ।’

प्रधानमन्त्रीसँग व्यक्तिगत असन्तुष्टि वा अन्य पद प्राप्त गर्नका लागि राजीनामा नदिएकाे गजुरेलकाे दाबी छ । ‘मेरो राजीनामा व्यक्तिगत असन्तुष्टि र पदको लाभको अपेक्षाका लागि होइन । मैले राजीनामाको कारण स्पष्ट रूपमा लेखेको छु । त्यो स्वीकृत भएसँगै कारण सार्वजनिक गर्छु’, उनले भने । राजीनामा स्वीकृत नहुञ्जेलसम्म अाफू केही नबोल्ने तर राजीनामा स्वीकृत भईसकेपश्चात भने कारण खाेल्ने उनले प्रष्ट पारे ।

प्रचण्डसँग असन्तुष्ट
सिन्धुलीबाट प्रतिनिधित्व गर्ने गजुरेल नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत हुन। प्रतिनिधि सभा अन्तर्गत गत मंसिर २०७९ मा भएको निर्वाचनमा उनी सिन्धुलीबाट उम्मेद्‍वार बन्न चाहेका थिए। तर प्रधानमन्त्री प्रचण्डले लेखनाथ दाहाल राजनलाई चुनाव लडाएपछि गजुरेल असन्तुष्ट बन्दै अाएका थिए।

गजुरेलले प्रतिनिधिसभाको टिकट नपाएपछि उनलाई रिझाउनका लागि प्रचण्डले आफू प्रधानमन्त्री भएपछि गत ९ माघ २०७९ मा आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका थिए ।


राष्ट्रिय सभा सदस्य हुँदै मन्त्री बन्ने दाउ
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा जाने उद्धेश्यले समेत प्रमुख सल्लाहकार गजुरेलले पदबाट राजनीमा दिएको हुने सक्ने समेत अड्कल भइरहेको छ। लोकतान्त्रिक वाम गठबन्धनको स्पष्ट बहुमत भएको वखत गजुरेल संसद छिर्न खोजेको टिप्पणी माओवादी वित्त भित्रै भईरहेको छ। उनी राष्ट्रिय सभा हुँदै मन्त्री बन्ने बाटोको पर्खाइमा रहेको समेत उनी निकट स्रोतले जनाएको छ।यद्पी उनले त्यसबारे भने मुख खाेल्न चाहेका छैनन्।

वर्तमान मन्त्रीमण्डल प्रति सत्तारुढ दल नेपाली कांग्रेस सन्तुष्ट हुन सकिरहेको छैन। खास गरि सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यशैली प्रति असन्तुष्ट छन्। कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनेको लगायतका अन्य कुरा प्रति देउवा चिढिदै आएका छन्। ललिता निवास जग्गा प्रकरणको फाइल पनि उनैको पालामा खोलिएको र कांग्रेस नेता विजयकुमार गच्छदारसहित करिब ४ सय जनाविरुद्ध मुद्दा चलाइएपछि सभापति देउवा रुष्ट देखिन्छन्। प्रचण्ड समेत मन्त्रीमण्डल सेट नै परिवर्तन गर्नेमा लगभग सहमतीमा आएको स्रोतले जनाएको छ। प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री श्रेष्ठको ठाउँमा गजुरेललाई ल्याउन खोजेको समेत निकट स्रोतले भनाई रहेको छ।

एनसेल खरिद प्रकरण
पछिल्लो समय एनसेलको सेयर खरिद विक्री प्रकरणमा प्रधानमन्त्री पुत्री गंगा दाहालको प्रत्यक्ष संग्लनता रहेको भन्ने आरोप लागिरहँदा गजुरेल आफू त्यहाँ नमुछिने भन्दै राजीनामा दिएको हुन सक्ने समेत टिप्पणी भईरहेको छ।

वि.स.२०४८ सालमा नेकपा मसालबाट एक समुह डा बाबुराम भट्टराई सहितको नेतृत्व गर्दै तत्कालिन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको एकता केन्द्रसँग जोडिन आएका गजुरेलको विगत पनि त्यति धुमलिएको छैन। एनसेलको भागबण्डामा उनी आफूलाई जोगान खोजिरहेको निकट स्रोतको भनाई रहेको छ।