images

हंगेरीले भिटो प्रयोग गर्दा युक्रेनले ईयूबाट पाएन ५५ अर्ब डलर

काठमाडौं। रुसविरुद्धको युद्धमा कमजोर बन्दै गइरहेको युक्रेनलाई लगातार दोस्रो ठूलो झट्का लागेको छ । युरोपेली युनियन (ईयू) ले दिने भनेको ५५ अर्ब डलरको सहयोगलाई हंगेरीले भिटो प्रयोग गर्दै अस्वीकार गरिदिएको हो । जसकारण तत्कालका लागि युक्रेनलाई दिने भनिएको सहयोग रोकिएको छ ।

यसअघि अमेरिकी सिनेटमा पनि युक्रेनलाई दिने भनिएको सहयोगलाई बहुमत सिनेटरहरूले अस्वीकार गरिदिएको थियो । अमेरिकी सरकारले युक्रेनलाई ६१ अर्ब डलर सहयोग गर्ने प्रस्ताव गरेको थियो । यद्यपि, ईयूले युक्रेनलाई सदस्यता दिने/नदिनेबारे वार्ता गर्ने भएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की खुसी भएका छन् । ईयूमा युक्रेनको भविष्यबारे छलफल हुने भएपछि जेलेन्स्कीले उक्त निर्णयलाई ‘युक्रेन र युरोप’को जित भनेका छन् । हंगेरीले लामो समययता युक्रेनलाई ईयूको सदस्यता दिन नहुने भन्दै विरोध गर्दै आएको थियो ।

युक्रेन युरोपेली युनियनमा आबद्ध भएको खण्डमा रुसले आफ्नो देशलाई आक्रमण गर्न नसक्ने जेलेन्स्कीको विश्वास छ । युक्रेनलाई युरोपेली युनियनको सदस्यता दिने/दिनेबारे छलफल सुचारु गर्ने निर्णय बिहीबार ईयूको शिखर सम्मेलनमा घोषणा गरिएको थियो ।

यसअघि ईयूको सम्मेलनमा २६ देशले युक्रेनलाई सदस्य बनाउने नबनाउने विषयमा छलफल हुनुपर्ने बताउँदा उनी बैठकमा अनुपस्थित थिए । ईयूमा युक्रेनको भविष्यबारे छलफल हुने निर्णय भएको केहीबेरमै ओर्बानले युक्रेनलाई गर्ने भनिएको सहयोग रोकिदिएका हुन् ।