काठमाडौं।प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले लगातार दोस्रो जित निकालेको छ ।
कोशीको जितमा अप्सरी बेगमले ’अलराउन्ड’ प्रदर्शन गरिन् । आज शुक्रवार भएको खेलमा कोशीले बाग्मती प्रदेशलाई ८ विकेटले हराउन सफल भएकाे छ । बाग्मतीले दिएको ८८ रनको लक्ष्य कोशीले १८ ओभर १ बलमा भेटाएकाे हाे । कोशीका लागि काजल श्रेष्ठ र अप्सरी बेगमले समान नट आउट ४१ रन बनाए ।
बलिङतर्फ बाग्मतीकी संस्कृति फुयाँल र सोनी पाख्रिनले समान १ विकेट लिए । यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बाग्मतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८७ रन बनायो । बाग्मतीका लागि यशोदा विष्टले सर्वाधिक ४१ रन बनाइन् । बलिङतर्फ कोशीकी सबनम राई र अप्सरी बेगमले समान २ विकेट लिए ।
यो जितसँगै कोशी २ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । कोशीले पहिलो खेलमा कर्णाली प्रदेशलाई १० विकेटले हराएको थियो । बाग्मती २ खेलमा २ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ ।