काठमाडौं । पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यकक्षबाटै पक्राउ परेका छन् । सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्वरजिष्ट्रार रहेका पराजुली पोखराको मित्रमिलन सहकारीको कार्यक्षेत्र बिस्तारको क्रममा घूस लिएको आरोपमा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले बुधबार पर्वत सदरमुकाममा रहेको कुश्मा नगरपालिकाबाट उनलाई पक्राउ गरेको हो । उनी हाल कुश्मा नगरपालिकाको प्रशासकीय अधिकृतको रुपमा कार्यरत थिए । हाल संकटग्रस्त रहेको मित्रमिलन सहकारीको कार्यक्षेत्र बिस्तार गर्ने क्रममा १ करोड ५ लाख रुपैयाँ नगद घूस लिएको आरोप छ ।
मित्रमिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रवन्धक किरण अधिकारीको बयानका आधारमा उनको नाममा पुस ५ गते पक्राउ पुर्जी जारी भएको थियो । गत कात्तिक ४ पक्राउ परेका सहकारीका अध्यक्ष पौडेल र प्रबन्धक अधिकारीले स्याङ्जामा कार्यक्षेत्र विस्तार गर्न रजिस्ट्रारलाई एक करोड २५ लाख रुपैयाँ घुस दिएको बयान दिएका थिए । मित्रमिलन सहकारीले वचतकर्ताको रकम फिर्ता नगरेको विषयमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
सहकारीका अध्यक्ष रमण पौडेलसहित ५ जना यसअघि नै पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार सदस्य राजु बराल र सेयर सदस्य बुद्धिसागर पौडेल रहेका छन् ।