
काठमाडौं । पाकिस्तानको निर्वाचन आयोगले जेलमा रहेका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खानको उम्मेदवारी रद्द गरेको छ ।
पीटीआईका कराची अध्यक्ष खुर्रम शेर जमानले आफ्नो एक्स ह्यान्डलमा यो जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘इमरान खानको नामांकन पत्र लाहोर र मियाँवालीबाट रद्द गरियो। यसको विरुद्धमा हामी अदालत जान्छौं । सर्वोच्च अदालतले आजीवन प्रतिबन्ध लगाएपछि पनि नवाज शरीफको पत्रलाई कसरी स्वीकार गरियो, त्यो अचम्मको कुरा हो ।’
शनिबार ठूलो संख्यामा पीटीआईका उम्मेदवारहरूको उम्मेदवारी अस्वीकृत भएकोमा पार्टीले विरोध जनाएको छ । पाकिस्तानमा आगामी फेब्रुअरी ८ मा आम निर्वाचन हुँदैछ र शनिबार उम्मेदवारको उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन थियो । अगस्ट ५ मा इमरान खानलाई तोशाखाना मुद्दामा दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाइएको थियो । त्यसपछि निर्वाचन आयोगले उनलाई पाँच वर्षका लागि अयोग्य घोषित गरेको थियो ।