काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सैन्य आक्रमणलाई तीव्र पार्ने बताएका छन् ।
बेलगोरोडमा शनिबार भएको हमलामा २४ जनाको मृत्यु र एक सयभन्दा बढी घाइते भएका थिए । मस्कोले युक्रेनी सहरहरूमा ठूलो मात्रामा आक्रमण गरेपछि बेलगोरोडमा हमला भएको हो ।रुसले ‘सैन्य प्रतिष्ठानहरू’ मा हमला गर्नका लागि दबाब बढाउने उनको भनाइ थियो ।
रुसले नयाँ वर्षको दिन आफूमाथि ‘रेकर्ड’ सङ्ख्यामा ड्रोन हमला गरेको युक्रेनले बताएपछि पुटिनको सो भनाइ आएको हो । पुटिनले बेलगोरोड हमलालाई ‘आतङ्कवादी हमला’ भने ।
‘नयाँ वर्षको पूर्वसन्ध्याभन्दा ठीकअघि मानिसहरू टहलिरहेको सहरको केन्द्रमा’ निशाना बनाएको उनले आरोप लगाए । उनले रुससँग ‘आफ्ना समस्याहरू सुल्झाउन’ पश्चिमी मुलुकहरूले युक्रेनलाई प्रयोग गरिरहेको दाबी गरे । उनले द्वन्द्वमा ‘रणनीतिक पहल’ रुसको पक्षमा भएको विश्वास गरेको बताए ।