काठमाडौं । बंगलादेशको एक अदालतले नोबेल पुरस्कार विजेता प्राध्यापक मोहम्मद युनुसलाई देशको श्रम कानुन उल्लंघन गरेको अभियोगमा ६ महिनाको जेल सजाय सुनाएको छ ।
८३ वर्षीय युनुस प्रधानमन्त्री शेख हसिनाका प्रखर आलोचक हुन् । उनका समर्थकहरुले यो मुद्दामा भएको फैसला राजनीतिक रुपमा प्रेरित भएको आरोप लगाएका छन् । युनुसमाथि राजनीतिक पूर्वाग्रहका आधारमा उत्पीडन गरिएको भन्दै भन्दै गत सेप्टेम्बरमा १७० भन्दा बढी विभिन्न देशका व्यक्तिहरुले शेख हसिनासँग आग्रह गरेका थिए । यस्तै पृष्ठभूमिमा युनुससहित संलग्न रहेको एक टेलिकम फर्मले कामदारहरूको लागि कल्याणकारी कोष सिर्जना नगरेको ठहर गर्दै अदालतले दोषी किटान गरेको हो । तर यो फैसलाविरुद्ध उनीहरुले पुनरावेदन गर्ने भएका छन् ।
गरिबहरूका बैंकर भनेर अन्तर्राष्ट्रिय रूपमा चिनिने ८३ वर्षीय युनुसलाई लाखौंलाई गरिबीबाट बाहिर निकाल्न लघुवित्त ऋणको अग्रगामी प्रणाली स्थापना गरेको श्रेय दिइन्छ । युनुस र उनको ग्रामीण बैंकलाई सन् २००६ मा संयुक्त रूपमा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । युनुसका वकिलहरूले उनीमाथि श्रम कानून उल्लङ्घन र भ्रष्टाचारको आरोपमा अन्य १०० भन्दा बढी आरोपहरू सामना गरिरहेको बताएका छन् । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले एक पटक युनुसलाई गरिबको ’रगत चुस्ने’ भन्दै ग्रामीण बैंकले अत्यधिक ब्याजदर लिएको आरोप लगाएकी थिइन् ।