काठमाडौं– इजरायलले उत्तरी गाजा क्षेत्रमा हमासको सैन्य संरचना नष्ट पारेको दाबी गरेको छ । गत ७ अक्टुबरमा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले युद्ध घोषणा गर्दै हमासलाई समाप्त पार्ने अभियान सुरु गरेको थियो । सोही क्रममा हवाई तथा स्थल आक्रमण गरेर इजरायलले उत्तरी गाजा क्षेत्र तहसनहस बनाएको हो ।
अब गाजा क्षेत्रको मध्य र दक्षिणी क्षेत्रमा हमासलाई समाप्त पार्ने अभियान सुरु गर्ने इजरायलले जनाएको छ । इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले उत्तरी गाजा क्षेत्रमा हमासको सैन्य संरचना समाप्त पार्ने काम पूरा भएको र प्यालेस्टिनी समूहका सदस्यहरु अब कमाण्डरविना छिटफुट रुपमा केही क्षेत्रमा काम गरिरहेको बताएका छन् ।
इजरायलको आक्रमणबाट २२ हजार ७ सय जनाभन्दा धेरै व्यक्तिको मृत्यु भएको गाजा क्षेत्रमा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मारिनेहरुमा अधिकांश महिला तथा बालबालिकाहरु छन् ।