काठमाडौं–दक्षिण कोरियामा कुकुरको मासुको व्यापारमा प्रतिबन्ध लगाइएको छ । मंगलबार त्यहाँको संसद्ले यस विषयमा नयाँ कानुन पारित गरेको हो । यो कानुनले सन् २०२७ देखि त्यहाँ कुकुरलाई काट्न र मासु बेच्न पूरै रोक लगाउने जनाएको छ ।
दक्षिण कोरियामा शताब्दीऔँदेखि कुकुरको मासु विक्री वितरण हुँदै आएको थियो । तर हालैका दशकहरूमा युवा पुस्तामाझ कुकुरको मासु खाने प्रवृत्ति घट्दै गइरहेको छ । युवा पुस्ताहरूले यसको मासु खान छाडेका छन् । नयाँ कानुनअन्तर्गत खपतको उद्देश्यले कुकुर पाल्न र काट्नमा बन्देज लाग्नेछ । मासु बाँड्न र बेच्न पनि पाइनेछैन । यो कानुन उल्लङ्घन गर्नेलाई जेल सजाय दिइनेछ ।
कुकुर काटेको भेटिएमा तीन वर्षसम्म जेल सजाय भोग्नु पर्नेछ । खपतका लागि कुकुर पाल्ने र मासु बेच्नेले पनि अधिकतम २ वर्षसम्मको जेल सजायको व्यवस्था कानुनमा गरिएको छ । तर कुकुरको मासु खानु भने गैरकानूनी मानिने छैन । किसान र रेस्टुराँ मालिकहरूका लागि रोजगारी र आयको वैकल्पिक स्रोत खोज्न समय मिलोस् भनेर कानुन तीन वर्ष पछि मात्रै कार्यान्वयन गरिनेछ । यो कानुनका कारण प्रभावित हुने व्यवसायीहरूलाई सरकारले पूरा सहयोग गर्ने बताइएको छ ।