images

भारतीय सेनालाई मार्च१५ सम्म देश छोड्न माल्दिभ्सको चेतावनी


काठमाडौं–भारतीय सेनालाई मार्च १५ सम्ममा देश छोड्न माल्दिभ्सको चेतावनी दिएको छ । माल्दिभ्सको मोहम्मद मुइज्जु सरकारले भारतीय सेनालाई मार्च १५ सम्ममा देश छोड्न चेतावनी दिएको हो ।

राष्ट्रपतिका मुख्य सचिव अब्दुल्लाह नाजिम इब्राहिमले पत्रकार सम्मेलन गरी सो जानकारी दिएका हुन् । समाचार एजेन्सी पीटीआईका अनुसार पछिल्लो सरकारी तथ्याङ्क अनुसार हाल माल्दिभ्समा ८८ भारतीय सैनिक छन् । मोहम्मद मुइज्जुले चुनावी प्रचारका क्रममा ‘इन्डिया आउट’ को नारा दिएका थिए ।

राष्ट्रपति बनेपछि मोहम्मद मुइज्जु सरकारले भारतलाई आफ्ना सेना फिर्ता गर्न भनेको थियो । अब आइतबार अर्थात १४ जनवरीमा मुइज्जु सरकारले भारतीय सेनालाई मार्च १५ सम्ममा माल्दिभ्स छोड्न भनेको छ ।

लक्षद्वीपको मुद्दामा हालै भारत र माल्दिभ्सबीच मतभेद देखिएको थियो । माल्दिभ्स सरकारले प्रधानमन्त्री मोदीको लक्षद्वीप फोटोमा आपत्तिजनक टिप्पणी गर्ने मन्त्रीहरूलाई निलम्बन गरेको थियो । त्यसपछि केही भारतीय र कम्पनीहरूले माल्दिभ्सलाई बहिष्कार गर्ने कुरा गरेका थिए। मोहम्मद मुइज्जु एक दिनअघि चीनको भ्रमण सकेर माल्दिभ्स फर्किएका छन् ।