काठमाडौं–भारी हिमपात र चिसो वर्षाको सामना गर्नुपरेको जर्मनीमा कडा जाडो मौसमका कारण मुलुकको सबैभन्दा व्यस्त फ्र्याङ्कफर्ट विमानस्थालमा सयौँ उडान रद्द गर्नु परेको छ ।
फ्र्याङ्कफर्ट विमानस्थालका प्रवक्ताका अनुसार जर्मनीको व्यापारिक राजधानी नाटकीय मौसमको अवस्थाका लागि तयार रहेकाले बिहान ढिलोसम्म एक हजार ४७ उडानमध्ये पाँच सय ७० उडानलाई तालिकाबाट हटाइएको थियो । दिउँसोसम्म चिसो वर्षाको सुरुआतका कारण बाँकी सबै प्रस्थान निर्धारित तालिकाबाट प्रभावित भएको तर अवतरण अझै पनि सम्भव भएको अर्का प्रवक्ताले बताए ।
अवरोध कहिलेसम्म जारी रहन्छ भन्नेबारे तत्काल स्पष्ट भएको छैन । म्युनिख विमानस्थलले पनि खराब मौसमका कारण ‘उडान सेवामा महत्त्वपूर्ण प्रतिबन्ध’ को सूचना दिएको छ । त्यहाँ छ सय ५० निर्धारित उडानमध्ये दुई सय ५० लाई रद्द गरिएको छ ।
ध्वजावाहक लुफ्थान्साले यात्रीहरूलाई विमानस्थल प्रस्थान गर्नुअघि उनीहरूको उडानहरू अझै निर्धारित छन् वा छैनन् भनेर पुष्टि गर्न सुझाव दिएको छ । त्यस्तै राष्ट्रिय रेल कम्पनी डायचे बानले खराब स्थितिका कारण उसले आफ्नो उच्च–गतिका रेलहरूलाई सुस्त गरिरहेको बताएको छ ।
उसले विशेषगरी कोलोन र फ्र्याङ्कफर्टको पश्चिमी सहरबीच आफ्नो क्षेत्रीय र लामो दूरीको नेटवर्कमा ढिलाई र रद्द गर्ने चेतावनी दिएको छ । जर्मनीको सबैभन्दा ठूलो राज्य बाभेरियाको ठूलो भूभागमा खतरनाक चिसोको आशङ्कामा स्कुल बन्द गरिएको छ ।