images

रुस नियन्त्रित दोनेत्स्क शहरमा विस्फोट हुँदा २५ जनाको ज्यान मृत्यु

काठमाडौं–रुस नियन्त्रित दोनेत्स्क शहरमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा २५ जनाको ज्यान गएको छ । दोनेत्स्क क्षेत्रका रुसी नेता डेनिस पुसिलिनले आक्रमणको पुष्टि गर्दै २५ जनाको ज्यान गएको र २० भन्दा बढी घाइते भएका जनाएका छन् ।

आपतकालिन सेवाका अधिकारीहरू उद्धारका लागि जुटेको र मृतक तथा घाइतेको संख्या बढ्न सक्ने उनको भनाइ छ । घटनाबारे युक्रेनले भने कुनै प्रतिक्रिया जनाइसकेको छैन ।

समाचार संस्थाहरूले सार्वजनिक गरेका तस्बिरहरूमा घाइते तथा मृतकहरू सडकमा लडेको अवस्था देखिन्छन् । त्यस्तै तस्बिरहरूमा विस्फोट भएको स्थल वरपरका पसलहरू ध्वस्त भएका देखिन्छ ।

रुसी विदेश मन्त्रालयले घटनालाई सर्वसाधारणमाथिको ‘बर्बर आतंककारी आक्रमण’ भएको उल्लेख गरेको छ । बजारहरू व्यस्त रहेको मौका छोपेर ‘भयानक आक्रमण’ गरिएको हो । दोनेत्स्क र पूर्वी युक्रेनको केही भूभाग रुसले २०१४ मा नियन्त्रणमा लिएको थियो । त्यसयता ती क्षेत्र आंशिक रूपमा रुसको नियन्त्रणमा छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २०२२ को सेप्टेम्बर ३० एक जनमत संग्रहमा गर्दै दोनेत्स्क सहित खेर्सन, लुहान्स्क र जापोरिज्जा क्षेत्रलाई आधिकारिक रुपमा आफ्नो देशमा गाभेका थिए ।

दोनेत्स्क नजिकका मरिन्का र अभ्दिभ्का क्षेत्रमा हाल रुस र युक्रेनी सेनाबीच भीषण लडाईं भइरहेको छ । संघर्ष जारी रहेका क्षेत्रबाट दोनेत्स्क करिब २० किलोमिटरको दूरीमा छ ।