काठमाडों–चालक दलका ६ सदस्यसहित ७४ जना सवार रुसी विमान युक्रेनको सीमा नजिक दुर्घटना भएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार इल्युशिन–७६ नामको सैन्य विमान युक्रेनको नजिक पर्ने बेलगोरोद प्रान्तको याबलोनोवो गाउँमा दुर्घटना भएको हो । दुर्घटनामा विमानमा सवार सबै ७४ जनाको मृत्यु भएको जनाइएको छ ।
रुसी अधिकारीहरुका अनुसार विमानमा ६५ युक्रेनी बन्दी, ६ जना चालक दलका सदस्य र ३ जना एस्कर्ट थिए । उक्त विमान युक्रेनले खसालेको आरोप रुसले लगाएको छ । खार्किभ सीमा क्षेत्रमा तैनाथ युक्रेनी सेनाले विमानमा दुई क्षेप्यास्त्र प्रहार गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले उक्त घटनालाई आतंकवादी काम भनेको छ ।
मन्त्रालयका अनुसार उक्त दुर्घटना बुधबार बेलगोरोडको सीमामा भएको बन्दी आदानप्रदानमा सहमति भएको केही घन्टाअघि भएको थियो ।