images

चिसोका कारण पाकिस्तानको पञ्जाब प्रान्तमा दुई सय बालबालिकाको मृत्यु

काठमाडौं– पाकिस्तानको पञ्जाब प्रान्तमा निकै चिसोका कारण निमोनियाका हुँदा दुई सयभन्दा बढी बालबालिकाको मृत्यु भएको छ ।
.
पञ्जाब सरकारले मृत्युको पुष्टि गर्दै पछिल्लो तीन हप्तामा उक्त मृत्यु भएको स्पष्ट पारेको थियो । पञ्जाबको सरकारका अनुसार मृत्यु भएका अधिकांश बालबालिकाले निमोनियाको खोप पाएका थिएनन्, कुपोषित थिए र अपर्याप्त स्तनपानका कारण उनीहरूमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको थियो ।

यसै अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै सरकारले पञ्जाब प्रदेशभरका विद्यालयमा माघ १७ गतेसम्म बिहानको प्रार्थना गर्न रोक लगाएको छ । एक महिनादेखि पञ्जाबमा निमोनियाका १० हजार ५२० विरामी देखिएका छन् ।

त्यसरी ज्यान गुमाएका २२० जना त पाँच वर्षमुनिका बालबालिका छन्, तीमध्ये ४७ जना लाहोरका थिए । पञ्जाबका खोप कार्यक्रमका निर्देशक मुख्तार अहमदले पाकिस्तानमा शिशुहरूलाई सामान्यतया जन्मेको ६ हप्तापछि पहिलो एन्टि–निमोनिया खोप दिइने गरेको बताए ।

पाकिस्तानमा दुई वर्षसम्मका बालबालिकालाई १२ वटा खोप लगाइन्छ, तीमध्ये तीनवटा खोप बालबालिकालाई निमोनियाबाट बचाउन दिइन्छ । खोप लगाइएका बालबालिका ब्याक्टेरियाको संक्रमणबाट सुरक्षित हुन्छन् तर भाइरल निमोनियाबाट प्रभावित हुन सक्छन् । चिसो बढेसँगै बालबालिकामा भाइरल निमोनिया तीव्र गतिमा बढ्दै गएको र कोरोना महामारीको रूपमा फैलिएको बताइएको छ ।