काठमाडौं– मधेश प्रदेशका विभिन्न अस्पतालका लागि भनेर खरिद गरिएका स्वास्थ्य सामग्रीमा अर्बौको भ्रष्टाचार भएको रहस्य खुलेको छ । भ्रष्टाचारको आशंकापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासोका साथ आन्तरिक छानबिन समेत अघि बढाएको छ ।
कोभिड महामारीदेखि हालसम्मका अधिकांश खरिदमा सेटिङ गरिएको र अनावश्यक सामान खरिद गराएर राज्यलाई अर्बौ घाटा पारेको विभिन्न उजुरीमाथि छानबिन भइरहेको अख्तियारले जनाएको छ ।
मधेश प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश स्वास्थ्य तथा आपूर्ति व्यवस्थापन केन्द्रले खरिद गरेका एक अर्बभन्दा बढीका स्वास्थ्य उपकरण प्रयोगविहीन भएकोमा अख्तियारले यसअघि नै छानविन थालेको थियो ।
अहिले तीनै प्रयोगविहीन उपकरणमा ‘रि एजेन्ट’को लागि फेरि सेटिङमा खरिद प्रक्रिया अघि बढाइएको छ । प्रयोगमै नआई थन्किएका उपकरणमा रि एजेन्ट गर्ने भनेर पुनः भ्रष्टाचार गर्न थालिएको उजुरीपछि अख्तियारले चासो दिएको हो । अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार सीमित आपुर्तिकर्तासँगको मिलेमतोमा विगत ७÷८ वर्षदेखि मधेश प्रदेशको स्वास्थ्य सामग्री खरिदमा खुलेआम भ्रष्टाचार भएको छ ।