images

कर्णालीले औषधि उत्पादनका क्षेत्रमा पहल लिनुपर्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशले औषधि उत्पादनका क्षेत्रमा पहल लिनु पर्ने जिकिर गरेका छन् । कर्णाली प्रदेश स्रोत र साधनले भरिपूर्ण रहेको र विशेष गरि जटिबुटीका दृष्ट्रिकोणले धनी भएको बताउँदै औषधि उत्पादनमा पहलकदमी लिनु पर्ने बताए ।

सोमबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौं सभालाई सम्बोधन गर्दै उनले भने, ‘कर्णाली प्रदेश अथाह प्राकृतिक स्रोत र मुख्यतः जडीबुटी स्रोतमा महत्त्वपूर्ण छ । तसर्थ, प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोगका साथै औषधि उत्पादनका क्षेत्रमा समेत पहल लिनुपर्दछ ।’ उनले कर्णालीको प्रदेशको विकास र समृद्धिका लागि सरकार गम्भीर भएर लागेको समेत आश्वास्त पारे ।

प्रधानमन्त्री प्रचण्डले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनका लागि विदेशी विद्यार्थीहरु आएको जानकारी पाउँदा खुसी लागेको भन्दै उनले नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्ने धारणा राखे।

 

‘नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छ भन्ने मेरो प्रष्ट मान्यता छ । यो हाम्रो आकांक्षा मात्र होइन, महत्त्वपूर्ण सम्भावनाको क्षेत्र पनि हो,’ उनले भने ।