images

क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सङ्कल्प गरौँः प्रधानमन्त्री

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिका बाँकी कार्यभार पूरा गर्न संङ्कल्प पूरा गर्नुपर्ने बताएका छन् । मंगलबार सहिद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘आजको दिन महान् सहिदहरूको स्मरणका साथै देश र जनताको मुक्ति एवं प्रगतिका निम्ति उहाँहरूले देख्नुभएको सपना र गर्नुभएको अठोटलाई शिरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सङ्कल्प गरौं। जहानियाँ राणा शासनको अन्त्य र लोकतन्त्रको स्थापनाका निम्ति वि.सं.१९९७ सालमा आफ्नो जीवनको बलिदान गर्नुहुने महान् शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ लगायतको स्मरण र सम्मानमा हामीले प्रत्येक वर्ष माघ १६ गतेलाई शहीद दिवसको रूपमा मनाउँदै आएका छौँ । यस सन्दर्भमा आफ्नो जीवन अर्पण गर्ने महान् शहीदहरूप्रति श्रद्धापूर्वक स्मरणका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । सम्पूर्ण बेपत्ता भएका योद्धाहरूप्रति उच्च सम्मान र स्मरण गर्दछु ।’

उनले नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति महान् सहिदहरूले उच्च बलिदान गरेको स्मरण गरे ।

‘राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने सहिदहरू विगत, वर्तमान र भविष्यका निम्ति समेत हामी सबैका लागि प्रेरणाका श्रोत र पथप्रदर्शक रही रहनेछन् । आजको दिन महान् शहीदहरूको स्मरणका साथै देश र जनताको मुक्ति एवं प्रगतिका निम्ति उहाँहरूले देख्नुभएको सपना र गर्नुभएको अठोटलाई शिरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सङ्कल्प गर्ने दिन पनि हो । त्यसका निम्ति मन, वचन र कर्मले हामी सबै क्रियाशील रहन सकौँ उनले भने ।’