काठमाडौं– मन्त्री नआएपछि शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएकाे छ । सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफलका लागि बाेलाइएकाे बैठकमा मन्त्रीकाे अनुपस्थित भएपछि शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएको हो ।
मंगलवार सरकारले ल्याएको सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल गर्न बोलाइएको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा अनुपस्थित भएपछि बैठक रोकिएको हो । संसद नियमावलीमा विधेयकको सम्बन्धमा छलफल गर्न सम्बन्धित मन्त्रीको अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था छ ।
उक्त व्यवस्थाअनुसार छलफलका लागि आमन्त्रित सांसद रघुजी पन्तले मन्त्रीको उपस्थिति बिना बैठक अघि बढ्न नसक्ने भन्दै समिति सभापति भानुभक्त जोशीलाई ध्यानाकर्षण गराएका थिए । समिति सभापतिलाई सांसद पन्तले संसद नियमावलीको १७८ को दफा ४ हेर्न आग्रह गरेका थिए । उनले मन्त्री बिना समिति बैठक चल्न नसक्ने अडान लिएपछि सभापति जोशीले सञ्चारमन्त्री अस्वस्थ भएको कारण बैठकमा उपस्थिति हुन नसक्ने जानकारी गराउँदै बैठक स्थगित भएको बताए ।