काठमाडौं– पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद फैसला भएको छ । राज्यको गोपनीय दस्तावेज सार्वजनिक गरेको आरोपमा उनलाई पाकिस्तानी अदालतले १० वर्षको कैद फैसला सुनाएको हो ।
पाकिस्तानी प्रतिपक्षी दल पीटीआईका नेता खानलाई अगामी चुनाव भन्दा एक हप्ता अगाडि यस्तो फैसला सुनाइएको हो । पाकिस्तानको आगामी चुनाव फेब्रुअरी ८ मा तोकिएको छ । रावलपिण्डीको विशेष अदालतले सुनाएको फैसला अनुसार खानले अमेरिकाको लागि पाकिस्तानी राजदूतले पठाएको केबललाई गलत प्रयोग गरेकोमा दोषी ठहर गरेको हो । आलतले पूर्वविदेशमन्त्री शाह मोहमद कुरैशीलाई पनि १० वर्षको कैद सजाय सुनाएको छ । कुरैशीलाई कूटनीतिक पत्राचार चुहावट गरेको आरोपमा सजाय सुनाइएको हो ।
इमरानको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ पीटीआईले झूटो मुद्दामा सजाय सुनाइएको प्रतिक्रिया दिएको छ । पीटीआईले भने अदालतको फैसाला प्रति आपत्ति जनाउँदै उच्च अदालतमा पुनरावेदन गर्ने जनाएको छ । विश्वासको मत पाउन नसकेपछि सन् २०२२ मा इमरान प्रधानमन्त्रीबाट हट्नुपरेको थियो । भ्रष्टाचारको आरोपमा दोषी ठहर भएर उनी अहिले तीन वर्षको जेल सजाय भोगिरहेका छन् ।