काठमाडौं–चुनावको मुखमा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई एकपछि अर्को मुद्दामा दोषी ठहर गरिएको छ । मंगलबार पाकिस्तानी अदालतले अमेरिकासँग जोडिएको साइफर मामिलामा इमरानलाई १० वर्षको जेल सजाय सुनाइएकोमा बुधबार फेरि भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय सुनाइएको हो ।
इमरान र उनकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको मुद्दामा १४ वर्षको जेल सजाय सुनाइएको हो । सजाय तोकिएपछि इमरान पत्नी बुशरा बीबीले आत्मसमर्पण गरेकी छन् । सन् २०२२ मा इमरान खानलाई विपक्षी दलले अपदस्थ गरेर प्रधानमन्त्रीबाट हटाइदिएका थिए । उनी यसअघि नै भ्रष्टाचारसँग जोडिएको मुद्दामा दोषी ठहर भएर तीन वर्षको सजाय भोगिरहेका छन् । इमरानले भने आफूविरुद्ध चलाइएका मुद्दा राजनीतिबाट प्रेरित रहेको बताउँदै आएका छन् ।
इमरानलाई यी सजाय पाकिस्तानमा आमचुनावको केही साताअघि भएको हो । नवाज शरिफले सत्तामा पुनरागमन तयारी गरिरहँदा इमरानलाई भने एकपछि अर्को मुद्दामा जेलमै सडाउने गरी फैसला भएको हो ।