images

माओवादी सांसदहरुलाई आश्वस्त पार्दै प्रचण्डले भने,राष्ट्रिय सभा अध्यक्षमा हाम्राे दाबी हुन्छ

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रको दाबी हुने बताएका छन् ।

मंगलबार बसेको माओवादी संसदीय दलको बैठकमा सांसदहरूको धारणामाथि जवाफ दिँदै पार्टी अध्यक्ष समेत रहेका प्रचण्डले राष्ट्रिय सभाको ठूलो दलको हैसियतले अध्यक्षमा दाबी प्रस्तुत गर्ने बताएका हुन् ।

‘बैठकमा बोल्ने अधिकांश सदस्यहरूको धारणा राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले छाड्नु हुँदैन भन्ने रह्यो। प्रधानमन्त्रीले गठबन्धनको बैठकमा यसबारे कुरा राख्ने बताउनुभएको छ ।बैठकको कुरा उदृत गर्दै सांसद माधव सापकोटाले जानकारी दिए।

राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसले इमान्दारिता नदेखाएको राष्ट्रिय सभा अध्यक्ष कांग्रेसलाई नछोड्नेमा माओवादी सांसदहरुको मत रहेको छ ।

इमान्दारिता नदेखाएकैले मत ट्रान्सफर हुन नसकेको र कोशीमा पार्टीकी उम्मेदवार चम्पादेवी कार्की पराजित हुन पुगेको भन्दै माओवादीले आक्रोश व्यक्त गरेको छ ।

फागुन २९ गते राष्ट्रिय सभा अध्यक्षका लागि निर्वाचन हुँदैछ। नेपाली कांग्रेसले पनि राष्ट्रिय सभा अध्यक्षमा दाबी गरिरहेको छ। कोशीबाट निर्वाचित राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा अध्यक्षका लागि आकांक्षी छन्।

राष्ट्रिय सभामा माओवादी १७ सांसदसहित ठूलो दल बनेको छ। १६ सांसदसहित कांग्रेस दोस्रो, १० सांसदसहित एमाले तेस्रो र ८ सांसदसहित एकीकृत समाजवादी चौथो दल बनेको छ।