images

विनोद चौधरीको आग्रह: ठुला विकास आयोजनालाई समयमै सम्पन्न गरौँ

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीले ठूला विकास आयोजनालाई समयमै सम्पन्न गर्न निर्माण कम्पनीहरुलाई आग्रह गरेका छन् ।

सोमबार जिल्ला प्रशासन कार्यालय नवलपरासीमा सरोकारवाला निकायसँग छलफल गर्दै चौधरीले विकास आयोजना निर्माण कार्यमा विलम्व नगर्न आग्रह गरेका हुन् । उनले पश्चिम नवलपरासी जिल्लाभित्र सञ्चालित विकास आयोजनाको प्रगति एवं समस्या समाधानका विषयमा सम्बन्धित निकायहरुसँग छलफल गरेका थिए । सांसद चौधरीले नारायणगढ–बुटवल सडक खण्ड र हुलाकी राजमार्गको कामलाई तीव्रता दिनु पर्नेमा जोड दिएका छन् । उनले नारायणगढ–बुटवल सडक खण्ड र हुलाकी राजमार्गको काम ढिलासुस्ती गर्न नगर्न निर्माण क्षेत्रलाई आग्रह गरेका छन् । उनले जनप्रतिनिधिको हैसियतले सबै भन्दा ठूलो जिम्मेवारी भनेकै विकासका आयोजनाहरु तत्काल समयमा नै सम्पन्न भएको बताए । उनले ठूला विकासका जनप्रतिनिधिहरुको परियोजना सम्पन्न गर्नका लागि दोहोरो भुमिका रहेको बताएका छन् । उनले विकास आयोजना सम्पन्न गर्न सरकारबाट गर्नुपर्ने सहजीकरणमा आफूले निरन्तर समन्वय गर्दै आएको उल्लेख गरेका छन् । चौधरीले स्थानीय तह, प्रदेश सरकारसँग निरन्तर समन्वयको काम भइरहेको बताएका छन् ।

चौधरीले भने,‘नारायणघाट बुटवल सडक आयोजनाको दुई वटै साइट निर्माणका प्रतिनिधिहरु र आयोजना व्यवस्थापन टिम, एडिबीको प्रतिनिधि र सचिवहरु सहित सकारात्मक छलफल अगाडि बढायौं । यसैको महत्वपूर्ण कडी बर्तघाट बजार क्षेत्रको काम करिब एक महिनाभित्र नै सम्पन्न गछौं भन्ने कुरा थियो । हुलाकी राजमार्ग लगायतका विषमा थप छलफल गरौंला । हामी जनप्रतिनिधिको हैसियतले सबै भन्दा ठूलो जिम्मेवारी भनेकै विकासका आयोजनाहरु तत्काल समयमा नै सम्पन्न हुन । यी परियोजना सम्पन्न गर्नका लागि दोहोरो भूमिका पनि छ । सरकारको तर्फबाट गर्नुपर्ने सहजिकरण हामीले गरिरहेका छौं । गर्दै पनि छौं । निर्माण सामग्री सहज रुपमा उपलब्धता गराउनको लागि स्थानीय सरकारसँग समन्वय गरी नियम पालना गर्दै सहज बनाउने काममा लाग्यौं । धेरै अफ्ठ्यारो परिस्थितिको सामना गरौं । समाधान पनि भयो र अन्त्यमा समस्या नभएको कुरा आयो । भुक्तानीका समस्या सरकार ठेकेदार कम्पनीबीचका कुरा हुन हामीलाई निर्माण प्रगति चाहिन्छ । जनताकोबीचमा यी कुराहरु जानेवाला छन् । निर्माणको क्रममा रहेका विकास आयोजनाहरु यो मितिमा सम्पन्न हुनेछन् भन्ने प्रतिवद्धता जनाउनु पर्ने छ । भएको काम सन्तोषजनक छैन ।’
उनले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको काममा भइरहेको ढिलासुस्तीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।