images

रास्वपाको भविष्य सङ्कटमा, आगामी निर्वाचनमा राष्ट्रिय पार्टी बन्न नसक्ने आङ्कलन

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले समीक्षात्मक प्रतिवेदन बुझाएसँगै पार्टीभित्र खैलाबैला भएको छ । देशका विभिन्न ३८ जिल्लामा पुगेर पार्टीको वास्तविक अवस्था बुझेका ढकालले हुबहु प्रतिवेदनमा समावेश गरेर सार्वजनिक गरे । जेठ ६ गतेदेखि सुरु भएको उनको यात्रा देशका विभिन्न ३८ जिल्लामा पुगेर विभिन्न अन्तरक्रिया र भेटघाटका आधारमा ढकालले यो प्रतिवेदन तयार गरेका छन् । प्रतिवेदनमा समेटिएका विषय कतिपयलाई तितो लागे पनि यसले पार्टीभित्रको वास्तविक अवस्था भने छताछुल्ल बनाइदिएको छ ।

राजनीतिमा कुनै पनि पार्टीको आन्तरिक अवस्था प्रायः सार्वजनिक हुँदैन । नेतृत्वले जेजस्तो हर्कत गरे पनि समग्रमा त्यो बाहिर आउँदैन । नेपालका पुराना दलहरूको हविगत यही नै हो । युवापुस्ता, जान्ने, सुन्ने जोकोही दलको सदस्य हुन उनीहरूले भित्री वास्तविकता बाहिर ल्याउन सक्दैनन् । तर, राष्ट्रिय स्वतन्त्र पार्टीको वास्तविक मुखुण्डो भने सार्वजनिक हुन थालेको छ । स्थापनाकालको छोटो अवधिमै उल्लेख्य जनमत पाएको यो पार्टी अहिले भने बिस्तारै खस्किँदो अवस्थामा छ ।

नेतृत्व तहमा देखिएको तीव्र महत्त्वाकाङ्क्षा, विभिन्न विकृतिमा मुछिनु तर नैतिकता नदेखाउनु यसका मुख्य कारण हुन् । त्यसो त रास्वपाको आगामी भविष्य उज्ज्वल होइन अन्योलमा परेको छ । यो परिदृश्य वैशाख १५ गते सम्पन्न उपनिर्वाचनले राम्रैसँग दिएको थियो । इलाम–२ मा प्रतिनिधि सभाको उपनिर्वाचनको रास्वपाको पराजय मात्र भएन जमानत समेत जफत भयो । पार्टीका सबै नेताहरू केन्द्रित हुँदा पनि रास्वपाले लज्जास्पद हार बेहोर्नुपरेको थियो । इलाम मात्र होइन देशका विभिन्न ठाउँमा रास्वपाको अवस्था यही नै छ भन्दा फरक नपर्ला । यही अवस्था बुझ्न देश दौडाहामा निस्किएका महामन्त्री मुकुल ढकालले पार्टीको अवस्थाबारे प्रतिवेदन बुझाएका छन् । उनले तयार पारेको प्रतिवेदनमा पार्टी अघि बढ्नै नसक्ने अवस्थामा पुगेको र यदि यस्तै अवस्था रहे अर्को चुनावसम्म राष्ट्रिय पार्टीसमेत बन्न नसक्ने दाबी गरिएको छ । सभापति रवि लामिछानेको कार्यशैली र उनीमाथि लागेका आरोपका कारण पार्टी खुम्चिँदै गएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पार्टीको समकालीन वस्तुस्थितिको यथार्थ चित्रण र पार्टीले लिने आगामी दिशाका सम्बन्धमा मार्गदर्शन गरेका ढकाल यति बेला निशानामा परेका छन् । उनलाई जिम्मेवारीबाट हटाउने तयारीसमेत गरिएको छ । उनले प्रतिवेदन पेस गर्ने बेला नै यो सङ्केत गरेका थिए । सभापति रवि लामिछानेलाई सम्बोधन गर्दै उनले पार्टीभित्र आफ्नो अधिकार कुण्ठित भएको र आफूमाथि घृणित राजनीति भएको दाबी गरेका छन् । पार्टीभित्र आन्तरिक छलफल नै नगरी प्रतिवेदन कसरी सार्वजनिक गरियो भन्ने विषयमा रास्वपाभित्र निहुँ बनेको छ । ढकाल यसकै निशानामा परेका छन् । पार्टीले आफ्नो गल्ती सुधार्ने र चरित्रमा फर्किने कुरा अहिलेको सन्दर्भमा जायज विषय भएको भन्दै यसको समर्थन भइरहेको छ । प्रश्न र आलोचना गर्दैमा पद नै सङ्कटमा पर्ने विषय जायज नभएको भन्दै रास्वपाको विरोध पनि भइरहेको छ ।

त्यसो त रास्वपा नेतृत्वकै कारण सङ्कटमा छ भन्दा अत्युक्ति नहोला । सहकारी प्रकरणमा मूल नेतृत्व मुछिदा त्यसले पार्टीको भविष्यमाथि नै खतराको घण्टी बजाइदिएको छ । त्यसमा पनि पुराना दलका कार्यशैलीको विरोध गरेको पार्टी तिनै दलको नेतृत्वमा सरकारमा सहभागी हुँदै आएको छ । यस अर्थमा रास्वपा कोही, कसैको कारण नभई नेतृत्वकै कारण सङ्कटको भुमरीमा परेको छ ।