काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज बयानका लागि काठमाडौं जिल्ला अदालतमा हाजिर हुने भएका छन्। काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतमा आफैँ हाजिर हुन लागेका हुन्।
पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र ६५ लाख धरौटीमा रिहा भएका लामिछाने पुस २६ गते साँझ काठमाडौं आइपुगेका थिए।
रिहा भए लगत्तै शुक्रबार जिल्ला अदालतमा स्वयं हाजिर हुने भनिए पनि समय अभावका कारण आज मात्रै जिल्ला अदालत काठमाडौंमा हाजिर हुन लागेको रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन्।
लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारी ठगीको पनि आरोप लागेको छ। ती जिल्लामा पनि उनीविरुद्ध मुद्दा दर्ताको पक्रिया चलिरहेको छ। स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।