images

आज ३५ औं अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

काठमाण्डौ । आज ३५ औं अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । यो वर्ष भविष्यलाई सुनौँ, बालबालिकाको अधिकारका लागि जागौँ भन्ने नाराका साथ विश्वभरि दिवस मनाउन लागिएको हो । विश्वभरका बालबालिकाको अधिकारको सुनिश्चितता होस् भन्ने उद्देश्यले मनाइने यो दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोगले बाल अधिकारको सुनिश्चितताका लागि प्रभावकारी कदम चाल्न सम्बद्ध सबैलाई आग्रह गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको दिनलाई स्मरण गरी पक्षधर राष्ट्रले आजका दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको रूपमा मनाउँदै आएका छन् । बालबालिकाको बचावट, संरक्षण, विकास, सहभागितालगायत विषय कार्यान्वयन गरी बाल अधिकार सुनिश्चितताका लागि अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विश्वभर मनाइँदै आएको हो । नेपालमा संयुक्त राष्ट्रसङ्घको बाल अधिकार महासन्धि १९८९ का ४२ धारा सबै कार्यान्वयनमा छन् ।