images

साइबर मुद्दामा दुर्गा प्रसाईंलाई ५ वर्षभन्दा बढी कैद सजाय गर्न मागदाबी

काठमाडौँ । कम्बोडियाको एउटा टेलिकम कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी गरेको दाबी सार्वजनिक गरेका दुर्गा प्रसाईंविरुद्ध साइबर अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ । काठमाडौँका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले उनीविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा बुधबार अदालतमा अभियोगपत्र दायर गरेका हुन् ।

प्रसाईंलाई विद्युतीय कारोबार ऐन–२०६३ को दफा ४७ को उपदफा १ अन्तर्गतको कसुरमा ५ वर्ष कैद र १ लाख जरिवाना गर्न मागदाबी गरिएको छ । सरकारी वकिलले उनलाई दफा ४७ को २ अनुसार थप सजाय गर्नुपर्ने मागदाबी गरेका छन् । सो उपदफा अनुसार पटक–पटक साइबर सम्बन्धी कानुन उल्लंघन गर्नेलाई डेढी सजाय हुने कानुनी व्यवस्था छ ।

सो व्यवस्था अनुसार उनलाई ५ वर्ष र त्यसको डेढी सजाय हुनुपर्ने सरकारी वकिलको मागदाबी छ । विद्युतीय कारोबार सम्बन्धी प्रसाईंविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको यो तेस्रो मुद्दा हो । प्रधानमन्त्रीको लगानी सम्बन्धी कागजात आफूले तयार नगरेको र कम्बोडियाबाट नै एकजना नेपाली नागरिकले ह्वाट्सएपमा पठाएपछि सार्वजनिक गरेको प्रसाईंले बयान दिएका छन् । प्रसाईंलाई धरौटीमा छाड्ने वा थुनामा राख्ने भन्ने बहस बिहीबार उनको बयानपछि सुरु हुनेछ । ३ वर्षभन्दा धेरै कैद सजाय हुनसक्ने मुद्दामा प्राप्त प्रमाणबाट पुष्टि हुने अवस्था आएमा थुनामा पठाउनुपर्ने कानुनी व्यवस्था छ ।