images

एमाले नेता ऐन महरविरुद्ध जबरजस्ती करणी अभियोगमा अनुसन्धान गर्न आदेश

काठमाडौं । एमाले नेता ऐेन महरविरुद्ध जबरजस्ती करणी मुद्दामा अनुसन्धान अघि बढाउन उच्च अदालत पाटनले आदेश दिएको छ।

एक महिलाले आफूमाथि महरले यौन शोषण गरेको दाबीसहित प्रहरी कार्यालयमा जोहेरी दिए पनि दर्ता नगरेको र सरकार वकिल समक्ष जाँदासमेत जोहरी दर्ता नभएपछि अनुसन्धानको माग गर्दै रिट निवेदन दायर गरेकी थिइन्। पीडित महिलाले जिल्ला प्रहरी परिसर काठमाडौँ, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई विपक्षी बनाएकी छिन्।

विभिन्न समयमा दायर भएका तीनवटा रिटमध्ये बुधबार उच्च अदालत पाटनका न्यायाधीश ब्रजेशकुमार प्याकुरेल र कृष्णराम कोइरालाको इजलासले एक रिटमा जारी गर्दै जाहेरी लिएर अनुसन्धान अघि बढाउन आदेश दिएको हो। दुईवटा रिट भने खारेज भएका छन्।

अदालतको आदेशपछि अब प्रहरी महरविरुद्ध उजुरी लिन र अनुसन्धान गर्न बाध्य भएको छ। बझाङवासी अखिलका पूर्वअध्यक्ष महरलाई पार्टीले पनि यहीँ आरोपमा निलम्बन गरेको छ।

पीडितका परिवार नै अदालतमा गएर न्यायको याचना गरेका थिए। केही दिनअघि महरका भाइले अदालतमै कुटपिट गरेको भिडियो प्रमाणसमेत इजलासमा प्रस्तुत गरिएको थियो।

आफूमाथि पटकपटक यौन शोषण भएको तर प्रतिवादीले कुनै जिम्मेवारी नलिई निरन्तर प्रताडित गर्दै आएको भन्दै उजुरी लिएर धामी बालकोट, प्रहरी र सरकारी वकिल कार्यालय धाउँदै आएकी थिइन्।