काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजे बैठक बस्ने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
संघीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।
बैठकमा सरकारले ल्याएका अध्यादेश, आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयक तथा यसअघि नै प्रस्तुत भइसकेका विधेयकहरूमाथि छलफल हुने घिमिरेले बताए ।
यसअघि शनिबार बसेको पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दल कार्यसमितिको बैठकले संसद्को आउँदो अधिवेशनमा पार्टी एउटै आवाज र एकढिका भएर प्रस्तुत हुने निर्णय गरेको छ ।
सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा भएको बैठकमा सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र मन्त्रीलाई आगामी दिनमा संसद्भित्र होस् वा बाहिर एकढिका भएर प्रस्तुत हुन निर्देशन दिएका प्रमुख सचेतक घिमिरेले जानकारी दिए ।
आउँदो १८ माघबाट संघीय संसद्को अधिवेशन सुरु हुँदै छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् ।