
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले ‘भ्यूटावर वाला विकासको मोडल’ मा परिवर्तन जरुरी रहेको बताएका छन् । झापामा शनिबार बिहान आयोजित एक कार्यक्रममा पुनले प्रधानमन्त्री केपी ओलीको ‘भ्यू टावर’ विकास मोडल अनुत्पादक भएको बताए ।
शिक्षा, स्वास्थ्य, रोजगारी र घरबार विहीनलाई सुरक्षित आवासको ग्यारेन्टी गर्नुपर्नेमा संघीय सरकारदेखि वडातहसम्म विकास भनेकै भ्यू टावर हो भन्ने स्थापित गर्न खोजिएको उनको भनाइ थियो । ‘लोकतन्त्रमा शिक्षा, स्वास्थ्य र रोजगारी सरकारको प्राथमिकतामा हुनुपर्छ । प्रधानमन्त्री केपी ओलीले भ्यू टावरको अवधारणा ल्याएपछि हरेक वडा, पालिका, प्रदेश सबैतिर विकास भनेकै भ्यू टावर, देशको गौरव भनेकै भ्यू टावरजस्तो भएको छ । ओलीजीले दमकमा ठूलो भ्यू टावर ठड्याउनुभयो’, पुनले भने, ‘प्रधानमन्त्री ओलीले भ्यू टावरलाई विकासको मोडल बनाउनुभयो । मैले यसअघि संसद्मा पनि भनेको छु । उहाँको विकासको मोडलमा गम्भीर त्रुटि छ ।’
ओलीको निर्वाचन क्षेत्र झापा–५ मा मात्र ४ देखि ५ हजार हाराहारी सुकुम्वासी रहेको तथ्याङ्क प्रस्तुत गर्दै पुनले भ्यू टावरभन्दा पहिला ओलीले उनीहरूलाई सुरक्षित बास, खाना र रोजगारीको व्यवस्था गर्नुपर्छ भन्ने सोच्न नसकेको टिप्पणी गरे । राज्य कोषबाट अर्बौं खर्च गरेर कसैका नाममा अनावश्यक विकास संरचना बनाउन नहुने भन्दै पुनले यस्तो प्रवृत्ति निरङ्कुश राज्य व्यवस्थामा मात्र हुने गरेको बताए ।
पछिल्लो समय आफूहरूले सुशासन र सामाजिक न्यायको पक्षमा राम्रो जनमत निर्माण गरेको पुनले बताए । लोकतन्त्रमा संविधान र कानुनभन्दा माथि कोही नहुने चर्चा गर्दै पुनले कानुनी रूपमा प्रश्न उठेपछि प्रधानमन्त्री, मन्त्री, सत्तापक्ष, प्रतिपक्ष वा जतिसुकै प्रभावशाली व्यक्ति भए पनि छानबिन र अनुसन्धानको दायरामा आउनुपर्ने उल्लेख गरे
काठमाडौं, पोखरा र मोरङका सहकारीको बचत अपचलनमा संलग्नमाथिको अनुसन्धान र अभियोजनमा सत्तापक्षका मानिस र अरूलाई फरक व्यवहार भएको उनको भनाइ छ ।
सरकारमा बस्नेहरूका यस्तै व्यवहारले जनतामा असन्तुष्टि चुलिएको भन्दै उनले लोकतन्त्रको विकल्प भने निरंशुकतन्त्र हुन नसक्ने स्पष्ट गरे ।