
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपिन जोशीको रिहाइमा थप पहलका लागि इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग संवाद गरेका छन् । प्रधानमन्त्री ओलीले बुधबार साँझ टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका हुन् ।
प्रधानमन्त्री ओलीले ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायलमा कार्यरत रहेका बेला जोशी विपिन हमासको नियन्त्रणमा परेको जानकारी गराउँदै सकुशल र शीघ्र रिहाइमा भूमिका निर्वाहका लागि राष्ट्रपति अब्देलसँग आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
जवाफमा राष्ट्रपति अब्देलले उक्त विषयमा आफ्नो प्रयास जारी रहने अवगत गराएका थिए । ७ अक्टोबर २०२३ मा पश्चिमी इजरायलमाथि आक्रमण गरेका हमास लडाकुले विपिनसहित इजरायली र अन्य मुलुकका दुई सय ५१ जनालाई बन्धक बनाएका थिए ।
इजरायल–हमासबीच युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा हमासले ३३ बन्दी रिहाइ गरिसकेको छ । हाल दोस्रो चरणको बन्दी आदानप्रदानको प्रक्रियामा दुवै पक्ष जुटेका छन् । यस्तोमा विपिनलाई दोस्रो चरणको बन्दी आदानप्रदानको सूचीमा समावेश गराउन पहलका लागि प्रधानमन्त्रीले इजिप्टका राष्ट्रपतिलाई आग्रह गरेका हुन् ।