images

असफलता उन्मुख राजावादी आन्दोलन, नेतृत्वप्रति असन्तुष्टि र आन्तरिक गुटबन्दी मुख्य कारक

काठमाडौं । राजसंस्था पुनस्र्थापना नभएसम्म रोकिँदैनौं भनेर सडकमा उत्रिएका राजावादीहरूको आन्दोलन असफलतातर्फ उन्मुख भएको छ ।

नेतृत्व गरिरहेकाहरुबीच नै विवाद छताछुल्ल हुन थालेपछि आन्दोलनको भविष्य अन्यौल बनेको छ । नयाँ चरणको आन्दोलन तय गर्ने भन्दै बोलाइएको बृहत् बैठकमा भाँडभैलो मच्चिन थालेको छ भने समितिमा रहेकाहरु नै एक अर्काविरुद्ध खनिन थालेका छन् ।

विवादले राजावादी आन्दोलनको दोस्रो चरण नै अन्योलमा परेको विश्लेषण गरिँदै छ । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट फर्कने क्रममा देखिएको ठूलो समर्थनपछि उत्साहित देखिएका राजावादीहरू अहिले पुनः गम्भीर गुटबन्दी र उद्देश्यहीनताले आक्रान्त छन् । आन्दोलनप्रति असन्तुष्ट युवाहरू भने नेतृत्वप्रति अविश्वास जनाउँदै छुट्टै मोर्चा खोल्ने तयारीमा जुटेका छन् । उनीहरूले बुढा पुस्ताबाट आन्दोलन चल्दैन भन्दै नयाँ पुस्ताबाट नेतृत्व हुनुपर्ने माग गरेका छन् ।

ठूलो समर्थनपछि उत्साहित देखिएका राजावादीहरू अहिले पुनः गम्भीर गुटबन्दी र उद्देश्यहीनताले आक्रान्त छन् तर, राजसंस्था र हिन्दुराज्यको पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल भने राजतन्त्र पुनस्थापनाको आन्दोलन नरोकिने जिकिर गर्छन् ।

पछिल्ला विवाद र असहमतिबीच राजसंस्था पुनःस्थापनाको आन्दोलन कता मोडिने हो भन्ने प्रश्न अब अझ पेचिलो बन्दै गएको छ । राजतन्त्र पुनस्थापना दिवा सपना भएको टिप्पणी गर्दै राजनीतिक विश्लेषकहरु पूर्वराजा समर्थकले आन्दोलन गर्नु गणतन्त्रविरोधी गतिविधि भएकाले जनताको त्याग र संघर्षबाट आएको गणतन्त्रविरुद्ध कार्य स्वीकार्य नहुने दाबी गर्छन् ।

राजावादीहरू मिलेजस्तो देखिए पनि उनीहरूबीच कहिले पनि भावनात्मक एकता हुन सकेन । नवराज सुवेदीबाट आन्दोलनको नेतृत्व हुन नसक्ने निष्कर्ष एकपक्षको छ । आन्दोलनलाई अब कसरी चर्काउने वा सेफल्यान्डिङ गराउने भन्नेमा मुल नेतृत्वकर्ता नै अन्योलग्रस्त बनेको पाइन्छ । यही तरिकाबाट राजतन्त्र फर्काउन सकिन्छ भन्ने विश्वास उनीहरूमा मर्दै गएको छ ।