images

असोज १७ देखि २० सम्म भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, सतर्कता अपनाउन आग्रह

काठमाडौं । नेपालको मनसुन बाहिरिने समयमा फेरि सक्रिय भएको छ । बंगालको खाडी र अरब सागरबाट अत्यधिक वर्षा गराउने जलवास्पयुक्त बादलहरू

नेपाल प्रवेश गरिरहेकाले असोज १७ शनिबारदेखि २० सोमबारसम्म देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम र भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बंगालको खाडीबाट उत्तरतिर सर्दै आएको यो न्यून चापीय प्रणालीले भारतको बिहार, आसाम, मेघालय, र सिक्किममा भारी वर्षा गराउने प्रक्षेपण गरिएको छ, र यो प्रणाली भारतको बिहारमा थप विकसित भएपछि कोशी प्रदेशबाट नेपाल प्रवेश गरी पश्चिमतिर फैलिने अनुमान गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बाढी, पहिरो, डुबान र आकस्मिक नदी बहावको उच्च जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

मौसम अध्येता एवं जलवायुविद् डा.धर्मराज उप्रेतीले भारतको बिहारमा यो प्रणाली थप विकसित भएपछि कोशी प्रदेशबाट नेपाल प्रवेश गर्ने र पश्चिमतिर फैलिने बताएका छन् । आगामी शनिबार साँझदेखि सक्रिय हुने यो प्रणाली नेपालभर सोमबार बिहानसम्म रहने अनुमान छ।

शनिबार साँझदेखि पूर्वी नेपालबाट मनसुन सक्रिय भएपछि आइतबार यो प्रणाली पश्चिमतिर सर्दै मधेश, बागमती, गण्डकी हुँदै लुम्बिनी प्रदेशको मध्यभागसम्म पुग्ने अनुमान छ।

मौसम अध्येता एवं जलवायुविद डा.धर्मराज उप्रेतीले भने “सुरुमा पूर्वी क्षेत्रमा यसको ज्यादा असर पर्ने अनुमान गरिएकोमा अहिले अवस्था फेरिएर पूर्वीभागको अलि पश्चिम अर्थात् मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान भएको छ। त्यसमाथि पश्चिमी वायुको पनि प्रभाव हुने भएकाले नेपालभर नै पानी पर्न सक्ने सम्भावना छ ।”

यो वर्ष मनसुन सरदर मितिभन्दा १५ दिन अगावै जेठ १५ गतेदेखि प्रवेश गरेको थियो । बाहिरिने समयमा पनि यसको प्रभाव लम्बिएको छ ।

मौसम अध्येता एवं जलवायुविद डा.धर्मराज उप्रेतीले मनसूनको बाहिरिने बेलामा मनसून सक्रिय भएको छ, यसलाई सामान्य अवस्थाको रुपमा लिन नहुने बताए। यसले धेरै क्षति गर्न सक्ने अनुमान गर्न सकिने उल्लेख गरे । विश्वमा प्रचलित विभिन्न मोडेलले गरेको प्रक्षेपणका आधारमा गरिएको यो पूर्वानुमानलाई कसैले पनि नजरअन्दाज नगर्न आग्रह गरेका छन्।

मौसम अध्येता एवं जलवायुविद उप्रेतीले वर्षायामको अन्त्यतिर हाम्रो माटो पर्याप्त भिजिसकेको हुँदा सामान्य झरीले पनि जोखिम बढाउने बताउनु भयो । अहिले ६० मिलिमिटरभन्दा बढी पानी पर्दा पहिरोको जोखिम रहेको जलवायुविद डा.धर्मराज उप्रेतीको भनाइ छ ।

यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा मध्यमदेखि भारी वर्षा हुने बताइसकेको छ । “बागमती प्रदेशको काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशको संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, मधेश प्रदेशको बारा, पर्सा, सर्लाही, रौतहट लगायतका जिल्लामा आकस्मिक बहाव र डुबानको जोखिम उच्च छ,” प्राधिकरणले जारि गरेको सूचनामा उल्लेख छ। यी क्षेत्रका नारायणी, बागमती, कमला र कोशी नदी तथा तिनका सहायक नदीहरूमा पानीको सतह खतरा तह नजिक पुग्ने बताइएको छ ।

दसैँको भीडभाडलाई ध्यानमा राख्दै प्राधिकरणले अत्यावश्यक नभई घरभन्दा टाढा र विशेष गरी रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ ।

यता प्राधिकरणले सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिहरूलाई आवश्यक परे सवारी सञ्चालनमा रोक लगाउन र यस्तो निर्णयको पालना गर्न निर्देशन दिएको छ । पहिरोको जोखिममा रहेका र नदी किनारका बस्तीहरूलाई विशेष सतर्कता अपनाउन र डुबान सम्भावित बस्तीका बासिन्दालाई सुरक्षित स्थानबारे अग्रिम जानकारी लिन र दिन आग्रह गरिएको छ । तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक र सरोकारवाला संस्थालाई पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सक्रिय रहन निर्देशन दिइएको छ ।