images

आचार्यको परिवारले सरकार समक्ष राख्यो १० बुँदे शर्त, लिखित सम्झौता नभए शव नउठाउने

काठमाडौं । मंगलबार नयाँ बानेश्वरमा आत्मदाह गरेको प्रेमप्रसाद आचार्यको परिवारले सरकार समक्ष १० बुँदे शर्त राखेका छन् ।

उपचारको क्रममा मृत्यु भएका आचार्यका परिवारले गृहमन्त्रीसमक्ष १० बुँदे शर्त राखी सो शर्तहरु पूरा नभएको अवस्थामा शव नउठाउने बताएका छन् ।

परिवारले आचार्यले मृत्युअघि सामाजिक सञ्जाल मार्फत् राखेका २५ वटा सुझावहरुको मागहरु सम्बोधन हुनुपर्ने, उनलाई मर्न बाध्य बनाउनेहरुलाई कानुनी उपचार खोजिनुपर्ने, किसान र कृषि उपजलाई बिना अवरोध र नगदमा कारोबार गर्ने व्यवस्था गरिनुपर्ने लगायतका मागहरु रहेका छन् ।

त्यसैगरी व्यवसायीलाई सरल दरमा कर्जा उपलब्ध गराउनुपर्ने, आचार्यले लिएको कर्जा राज्यले स्वामित्व लिई चुक्ता गरिदिनुपर्ने, नावालक सन्तानलाई चाहेको विद्यालयदेखि निशुल्क उच्च शिक्षासम्मको ग्यारेन्टी राज्यले गरिदिनुपर्ने लगायतका मागहरु रहेका छन् ।

त्यस्तै परिवारले सरकार समक्ष आर्थिक लेनदेन तथा उधारो बजारसम्बन्धी कानुन तत्काल ल्याउनुपर्ने तथा आचार्यलाई आर्थिक कृषि क्रान्तिको प्रथम शहीद घोषणा गरिनुपर्ने लगायतका मागहरु राखेका छन् ।

उनीहरुले सरकारसमक्ष राखेका मागहरु पूरा गर्ने लिखित सम्झौता नभएसम्म आचार्यको शव नउठाउने र दाहसंस्कार नगरिने परिवारले चेतावनी दिएको छ ।