
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारभित्र असन्तुष्टि र द्वन्द्व झनै चर्किंदै गएको हो ? यो प्रश्न आम रुपमा उठिरहेको छ ।
सत्तारूढ गठबन्धनभित्रको आन्तरिक मतभेद, नीतिगत अन्योल र जनताको अपेक्षा अनुरूप परिणाम दिन नसकेको आलोचनाबीच सरकारको अस्थिरता झल्किन थालेको छ ।
प्रधानमन्त्री ओलीले महिनैपिच्छे समय आएपछि देउवालाई सत्ता सुम्पिन्छु भन्ने अभिव्यक्ति पनि त्रासबाट प्रेरीत र देउवालाई फकाउने उदेश्यले दिने गरेको चर्चा भइरहेको हुन्छ । ओली सरकार गठनको एक वर्षमै मन्त्रीपरिषदभित्रको असन्तुष्टि सतहमा देखिन थालेको छ ।
केही मन्त्रीहरूको कार्यसम्पादनप्रति ओली स्वयं असन्तुष्ट छन् भने, अर्कोतर्फ मन्त्रीहरू आफैं निर्णय प्रक्रियाबाट विमुख भएको गुनासो गर्दै आएका छन् । आर्थिक सुस्तता, महँगी नियन्त्रणमा असफलता लगायत बढ्दो बेरोजगारीलाई लिएर जनस्तरमा व्यापक असन्तोष फैलिएको छ ।
परिणाम स्वरुप ओली सरकार बहिरगमनतर्फ लागेको मत बलियो छ । यता, नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङको दाबी यस्तो छ ।
सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मौनता राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ । अन्य समय ठूला मुद्दामा सशक्त आवाज उठाउने देउवा, हाल ओली सरकारमाथि खासै आलोचनामा देखिएका छैनन् । संसदमा पनि उनको उपस्थिती कम र अभिव्यक्तिहरू नरम हुँदै गएका छन् । राजनीतिक विश्लेषकहरू यस मौनतालाई दुई कोणबाट टिप्पणी गरिरहेका छन् ।
पहिलो, देउवा सम्भावित सत्ता समीकरणको प्रतीक्षामा छन् र अनावश्यक रुपमा ओलीसँग टकराव नगरी आगामी सत्ता गठबन्धनका लागि ठाउँ बनाइरहेका छन् ।
दोस्रो, कांग्रेसभित्रैको गुटगत विवादले देउवाको नेतृत्व कमजोर बनाएको र उनले अझै स्पष्ट रणनीति तय गर्न नसकेको भन्ने हो ।
यसैबीच, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने पछिल्लो समय देउवालाई पुनः सहकार्यमा ल्याउने प्रयासमा देखिएका छन् । जसको छनक उनले देउवाप्रति नरम र ओलीप्रति गरम भएर दिने अभिव्यक्तिले समेत दिन्छ ।
वर्तमान परिदृश्यमा नेपालको राजनीति फेरि एकपटक अनिश्चितता र सम्भावनाको दोहोरो मोडमा पुगेको छ ।
ओली सरकारभित्रको अस्थिरता गहिरिँदै गएको छ, तर विपक्षी नेताहरू चाहिँ पर्ख र हेरको रणनीतिमा छन् । देउवाको मौनता रहस्यमय देखिए पनि, प्रचण्डको सक्रियता नयाँ समीकरण निर्माणको संकेत हो ।