images

कांग्रेसनिकट तरुण दलको भवन बनाउन सरकारी बजेट, चौतर्फि विरोध

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलको भवन निर्माणका लागि सरकारी बजेट छुट्याइएपछि विरोध सुरु भएको छ।

पार्टीको भ्रातृ संस्थाको भवन बनाउन सरकारी बजेटको दुरुपयोग गरिएको भन्दै विरोध भएको हो।

काठमाडौँ महानगरपालिका–१३ ‘गणेशमान सिंह स्मृति भवन निर्माण’ शीर्षकमा शहरी विकास मन्त्रालयले तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

तरुण दलका अध्यक्ष विद्वान गुरुङले वक्तव्य जारी गर्दै भवन निर्माणका लागि बजेट विनियोजन गरेकोमा पार्टी अध्यक्ष शेरबहादुर देउवा, शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई धन्यवाद ज्ञापन गरेका छन्।

वक्यव्य बाहिरिएपछि सरकारी बजेट पार्टीको भवन बनाउन छुट्याइएको विषय बाहिरिएको थियो।

जसको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले विज्ञप्ति जारी गर्दै विरोध गरेको छ।

युवा संगठनका प्रचारप्रसार संयोजक कल्याण विक्रम आचार्यले ‘गणेशमान सिंह स्मृति भवन निर्माण’ शीर्षकमा छुट्याइएको बजेट संशोधन हुनुपर्ने माग गरेका छन्।

‘यस्ता अनुचित र अलोकप्रिय कदमहरू अविलम्ब संशोधन गरिनुपर्छ’, विज्ञप्तिमा भनिएको छ।

सत्तामा भएको समयमा सबै दलले संघसंगठनको भवन बनाउँदै जाने हो भने भोलिका दिनमा गलत परम्परा बस्ने र त्यसले सरकारी सम्पत्तिको दुरुपयोग बढ्ने आचार्यको भनाइ छ।