images

तिहारमा ५० करोड रुपैयाँ बराबरको फूलको कारोबार, सबैभन्दा धेरै काठमाडौंमा बिक्री

काठमाडौं । यस वर्षको तिहारमा ५० करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको छ ।

सबैभन्दा धेरै खपत काठमाण्डौ उपत्यकामा भएको फ्लोरिकल्चर एसोसिएशनका अध्यक्ष दिलीप बादेले बताएका छन् ।

उनका अनुसार गएको वर्षकै हाराहारीमा यस वर्ष फूलको कारोबार भएको छ । यस वर्ष उपभोक्ताले सामान्यतया एउटा मालाको कम्तीमा एक सय रुपैयाँ तिर्नुपरेको थियो ।

काठमाडौं महानगरपालिकाले फूल बिक्रीस्थल तोकेका कारण यस वर्ष सहज भएको उनले बताएका छन् ।

बजार माग हरेक वर्ष १५ देखि २० प्रतिशतसम्म वृद्धि हुने तर उत्पादन भने बढीमा १० प्रतिशतले मात्र वृद्धि हुने गरेको छ ।

विशेषगरी तिहारमा प्रयोग हुने मखमली र गोदावरी फूल स्वदेशी उत्पादनले नै पुग्ने गरेको भए पनि सयपत्री र रातो गुलाफ भने भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको अध्यक्ष बादेले बताएका छन् ।

काठमाडौं उपत्यकाको तीन जिल्लासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ वटा जिल्लामा पुष्पखेती विस्तार भएका छन् । व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएका उनले जानकारी दिएका छन्।

पुष्पखेतीबाट ४४ हजारभन्दा बढी लाभान्वित भएका छन् भने दुई सय २१ हेक्टरमा एक हजार एक सय ८४ व्यवसायीले पुष्पखेती गरेका छन् ।